मङ्गलबार दिउँसो सुदुरपश्चिममा गएको भूकम्पबाट बच्न विद्यालयको भवनबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् । अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउद घाइते भएका हुन् ।
कक्षा चलिरहेको बेलामा भूकम्पले हल्लाएपछि आत्तिएर विद्यालयको भवनको दुई तला माथिबाट हामफाल्ने क्रममा साउद घाइते भएको विद्यालयका प्रधानाध्यापक निर्प रावतले जानकारी दिए ।
‘‘आत्तिएर दुई तलाबाट हामफाल्ने क्रममा लट्पटिएर घाइते भएको छ, हामीले अस्पताल लैजाने क्रममा छौं,’’ प्रधानाध्यापक रावतले भने । सन्तोषको बाहिरी देखिने गरेर टाउको, अनुहारमा चोट लागेको बताइएको छ ।
सुदुरपश्चिममा आजै दुई पटक ठूला भूकम्प र त्यसपछि पनि लगातार पराकम्प गइरहेका छन् ।
बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार भूकम्पपछि पनि पराकम्प आइरहेको छ । ‘‘जयपृथ्वी लोकमार्गको कचली खोलामा माथिबाट धुले पहिरो खसेर सडक अवरुद्ध भएको छ, हामी बसेको जमिन हल्लिइरहेको छ, उद्धारका लागि हामी तयारी अवस्था मै छौं,’’ प्रजिअ पाण्डेयले भने ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।
त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।