प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा बहस सुरु

सरकारी पक्षको बहस आज सकिँदै

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजको सुनुवाइ शुरु भएको छ । प्रधानमन्त्री ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस शुरु गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा उनले बहस शुरु गरेका हुन् ।

प्रधानमन्त्रीका तर्फबाट कूल २३ जनाले बहस गर्ने कार्यतालिका रहेको थियो भने सात घण्टाका लागि समय निर्धारण गरिएको थियो। आजका लागि एक घण्टा ३० मिनेटमात्र समय बाँकी छ । त्यसपछि सभामुखका कानून व्यवसायीको बहस शुरु हुनेछ। सभामुखका कानून व्यवसायीलाई एक घण्टाको समय तोकिएको छ ।

यसअघि रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो। निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए । निवेदक पक्षका कानून व्यवासायीले बहुमत सांसद पक्षमा रहेको जिकिर गर्दै नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् ।

सभामुखका कानून व्यवसायीको बहसपछि रिट निवेदक पक्षले जवाफ दिनेछन् । त्यसपछि अदालतको सहयोगी (एकीकस क्युरी) को बहस हुनेछ। त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार