प्रतिनिधि चयनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका असन्तुष्ट नेता-कार्यकर्ताले पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् । धनगढी उपमहानगर कमिटिले सोमबार प्रदेश अधिवेशनका लागि सर्वसम्मत रूपले प्रतिनिधि चयन गरेर जिल्ला कमिटिलाई सिफारिस गरेको थियो ।
प्रतिनिधि चयनमा एकलौटी र मनोमानी गरिएका कारण बाध्य भएर तालाबन्दी गरिएको एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य किशोर शाहले बताए ।
पार्टीको विधि, विधान एवं मूल्य मान्यतालाई लत्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकाले युवाहरूले तालाबन्दी गरेको उनको भनाइ छ ।
युवा नेता-कार्यकर्तालाई अवसरबाट बञ्चित गरेर प्रतिनिधि छनोट गरिएको आरोप पार्टी नेतृत्वलाई लागेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले असोज २१ र २२ गते धनगढीमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ ।
सोमबार निर्वाचन अधिकृतको कार्यालयले धनगढी नगर कमिटी तथा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत प्रदेश क र ख मा निर्विरोध प्रतिनिधि निर्वाचत भएको घोषणा गरेको थियो ।