जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जानकारी दिए ।
उनका अनुसार सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि उक्त निर्णय लिइएको प्रजिअ अधिकारीले बताए ।
केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो । हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो ।
मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्याली पनि निकालिएको थियो । बजार क्षेत्रमा प्रहरी नायब उपरीक्षक नारायण डाँगीको नेतृत्वमा ५ सय बढी प्रहरीहरु परिचालन गरिएको छ । १०० बढी संख्यामा सशस्त्र प्रहरीहरु पनि परिचालित छन् ।