माइतीघर पुगेर गृहमन्त्रीले भने : रेशम चौधरीको रिहाइबारे सरकार सकारात्मक छ

गृहमन्त्री रामबहादुर थापा बादलले कैलालीको टिकापुर घटनाको समाधान राजनीतिक तवरले हल गरिने आश्वासन दिएका छन् ।

निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्ने लगायतका माग राख्दै काठमाडौंको माइतिघरमा धर्नामा बसेका थारु अगुवालाई भेट्‍न पुगेका गृहमन्त्री थापाले कैलालीको टिकापुर घटनाको समाधान निकाल्न सरकार सकारात्मक भएको बताएका हुन् ।

गृहमन्त्री थापाले सरकारले छिटै वार्ता टोली गठन गर्ने भन्दै छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गरेका थिए । उनले सबैै समस्याको हल छलफल र वार्ताबाटै छिटो गरिने जानकारी दिए ।

टिकापुर घटनामा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, न्यायिक छानविन हुनुपर्ने, पिछडावर्गलाई उचित आरक्षणको व्यवस्था हुनुपर्ने आफूहरुको माग रहेको र सरकारले वार्ता गर्ने आश्वासन दिएको थारु नेतृ रुक्मणी चौधरीले जानकारी दिइन् ।

थारु कल्याणकारिणी सभा लगायतले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि धर्ना दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार