बालिका बलात्कार आरोपमा रोल्पाका दुई युवक पक्राउ

बलात्कारको आरोपमा प्रहरीले रोल्पाका दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर २ का १९ वर्षिय पोखराज वली र २३ वर्षीय देवराज वली रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एक रेस्टुरेन्टमा लगेर असार १५ गते राति १३ वर्षीया बालिका र १६ वर्षीया किशोरीलाई उनीहरुले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घटनाको सूचनाका आधारमा होटेलमा गएको प्रहरीले बुधबार दुई युवकलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत दाङमा पेस गरेको थियो । अदालतबाट बिहीबार सात दिनको म्याद थप गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।

उनीहरू दुवै युवकविरूद्ध जबरजस्ती करणी शीर्षक अन्तर्गत मुद्दा चलाएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार