भेरी नदीमाथि बन्न लागेको पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र

रानीघाटमा भेरी नदीमाथि बन्न लागेको पक्की पुल आठ वर्षदेखि अलपत्र परेको छ । सडक विभाग डिभिजन कार्यालय सुर्खेत र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पुनःडिजाइन समयमै नहुँदा निर्माण कार्य अलपत्र परेको हो ।

बर्दियालाई सुर्खेतसँग जोड्न छोटो दूरी मानिएको रानीघाट खण्डमा विसं २०६९ देखि पुल निर्माण शुरु गरिएको थियो । ठेकेदार कम्पनी पप्पु/मल्ल जेभी कन्स्ट्रक्सनले प्राविधिक समस्या देखाउँदै लामो समय पुल निर्माण कार्य अलपत्र छाडेको स्थानीयवासीको गुनासो छ । “यदि प्राविधिक समस्या हो भने समयमै समाधानको पहल गर्नुपथ्र्यो”, सुर्खेत बराहताल गाउँपालिका हरिहरपुरका लालबहादुर थापाले भने, “सडक विभाग र ठेकेदारले गर्दा पुल निर्माण अलपत्र पारियो ।” आफूहरुले पटक–पटक जिल्ला प्रशासन सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउँदा सडक डिभिजन कार्यालय सुर्खेतले सुनुवाइ नगरेको उनले बताए ।

हरिहरपुरकै अर्का स्थानीय गगन वलीले पुल नबन्दा वीरेन्द्रनगर आउन पनि कठिन भएको र झोलुङ्गे पुल खोज्न दुई घण्टाको बाटो हिँड्नुपर्ने बाध्यता सुनाए । पक्की पुल नहुँदा सुर्खेत–बर्दिया सडक स्तरोन्नति हुन सकेको छैन । त्यसले गर्दा सुर्खेतदेखि बर्दिया जान रत्न राजमार्ग हुँदै जानुपर्ने बाध्यता छ ।

पप्पु÷मल्ल जेभी कन्स्ट्रक्सनले तीन वर्षमा सो पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता थियो । आठ वर्ष बितिसक्दा बल्ल पुनः डिजाइनको काम थालिएको छ । कम्पनीले निजी कन्सल्टेन्टमार्फत उक्त पुलको पुनः डिजाइनको काम थालिरहेको छ । सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनीयर तुलाराम शर्माले ठेकेदारले १० दिनभित्र डिजाइन पेश गर्ने प्रतिबद्धता जनाएको बताए ।

ठेकेदारले पेश गरेको डिजाइन सडक विभागको पुल महाशाखामा पठाएपछि मात्र निर्माण कार्यअघि बढ्ने उनको भनाइ छ । पिलरको सम्भावित जगमुनी दुई स्थानमा कडा खाले चट्टान भेटिएपछि पुनःडिजाइन बनाउनुपरेको जनाउँदै इञ्जिनीयर शर्माले भने, “विभागले ठेकेदारले प्रस्ताव गरेको डिजाइन स्वीकृत गरेपछि मात्र निर्माणको प्रक्रिया शुरु हुन्छ ।”

Loading...