भदौपछि फेरि संक्रमण ह्वात्तै बढ्न सक्ने

गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै कोरोना महामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी निषेधाज्ञा आंशिक रूपमा खुला भएको छ । तर अझसम्म राष्ट्रिय रूपमा कोरोना संक्रमण दर २० प्रतिशतको हाराहारीमै छ ।

पछिल्ला दुई दिनमा त यो २६ प्रतिशतमा उक्लेको छ । पर्याप्त परीक्षण र खोप अभावसँगसँगै संक्रमण दर अपेक्षित हिसाबले नघट्दा महामारी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। यो सातादेखि राजधानीमा गरिएको आंशिक खुलापनले संक्रमण झन् बढ्न सक्ने विज्ञहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआरमार्फत ७ हजार १ सय ३० जनामा भाइरस परीक्षण भएकोमा २६ प्रतिशतमा संक्रमण देखिएको छ । बुधबार पनि संक्रमण दर २६ प्रतिशत नै थियो ।

चिकित्सकका अनुसार हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुन सक्ने भएकाले समुदायले समयमै परीक्षण गर्नुपर्छ । तर त्यसो हुन सकेको छैन । टेकु अस्पतालको निर्देशकबाट हालै सेवानिवृत्त सागर राजभण्डारी घरपरिवारका सबै सदस्य संक्रमित हुँदा समेत परीक्षण नभएको देखिएको बताउँछन् । ‘संक्रमण भित्रभित्रै गुम्सिएको छ र त्यही कारणले यो घट्न नसकेको हो,’ उनी भन्छन् ।

‘हामीले परीक्षणको दायरा बढाउन सकेका छैनौं । कन्ट्याक्ट ट्रेसिङ अत्यन्त कमजोर छ। स्थानीय तहको भूमिका कन्ट्याक्ट ट्रेसिङमा अपेक्षित देखिएन,’ उनी भन्छन् । पछिल्ला दिनमा प्रदेश १, वाग्मती र गण्डकीमा संक्रमण अन्यत्रको भन्दा बढी देखिएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी संक्रमण व्यापक रूपमा फैलिएकाले घट्न समय लागेको तर्क गर्छन् । ‘हामीले वैशाखको मध्यभन्दा चैतको मध्यदेखि निषेधाज्ञा जारी गरेको भए संक्रमण धेरै तल झर्न सक्थ्यो तर ढिलो हुँदा यसले व्यापक रूपमा फैलिने मौका पायो,’ उनी तर्क गर्छन् ।

देशका विभिन्न स्थानमा बाढीपहिरो आएकाले प्राकृतिक कारणले मानिसको आवतजावत कम हुने हुँदा तत्काल संक्रमण ह्वात्तै नबढे पनि भदौपछि यो फेरि बढ्न सक्ने उनी बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार