सुन प्रकरण ‘बम’ होला भनेको सलाईको काँटीजति पनि पडकिएन: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतामाथि गहिरो अनुसन्धान नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन् ।

उनले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताए । उनले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरूले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गरे । उनले शङ्काको घेरामा रहेका व्यक्ति मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको आशङ्का व्यक्त गरे ।

उनले भने, ‘‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान सुरु भयो । त्यो अनुसन्धानका कुराहरू हेर्दाखेरी भद्दा मजाक जस्तो भएर गयो । सत्तारुढ दलका नेताको नाम आउने बित्तिकै जुन ढङ्गले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ, त्यो पटका पनि भएन । सलाईको काँटी जति पनि पड्किएन । किनभने जतिपनि नामहरू आए उनीहरूले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्नेकुरा सार्वजनिक भएको छ । प्रहरी केही गर्न चाहान्छ, राजनीतिक हस्तक्षेप भयो ।’’

सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानले सुनपानी छर्किने काम गरेको बताए । उनले अनुसन्धान अपुरो भएको भन्दै अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरूपण पनि आलोचित हुनसक्ने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार