कालापैराखोलाको बाढीले मध्यपहाडी लोकमार्ग अवरूद्ध

दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वी रूकुम खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो ।

सडक शनिबार दिउँसोदेखि अवरूद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौं, पोखरा, बागलुङलगायतका स्थानमा छुटेका मालवाहक तथा सवारीसाधन सडकमा ठप्प भएका छन् । लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् ।

रातभर भारी वर्षा भएको अहिले केही कम भएको हुँदा खुलाउने प्रयास भएको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए ।

बाढीले करिब दुई सय मिटर कालोपत्र सडकमा क्षति पुर्याएको अध्यक्ष पौडेलको भनाइ छ । कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध बनाएको उनी बताउँछन् ।

बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँ र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उनको भनाइ छ । ‘यो ठाउँमा पानी पर्यो भने माथिबाट लेदोसहितको ठूलो बाढी आउँछ । बाढीले एकै छिनमा सबै सडक पुरिदिन्छन्,’ अध्यक्ष पौडेलले भने ।

यसपालि बर्खामा पटकपटक बाढी आउँदा लोकमार्गसँग सहकार्य गरी खुलाएको उनले बताए । बाटो खुल्न केही समय लाग्ने पनि उनले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार