क्रसरले बनाएको खाडलको पानीमा डुबेर ११ वर्षीय बालकको मृत्यु

धनुषाको बट्टेश्वरमा क्रसर व्यवसायीले ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाडलको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बटेश्वर गाउँपालिका–१ धुमासन निवासी विनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शनिबार दिउँसो साथीहरुसँगै बिगही खोलामा खेल्न गएका बेला धिरज पानीमा डुबेका थिए । खेल्ने क्रममा चिप्लिएर खाल्डोमा खस्दा उनको मृत्यु भएको धिरजसँगै गएका उनका साथीहरुले बताएका छन् ।

बालबालिकाले हल्ला गरेपछि पुगेका स्थानीयले खाल्डोबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगेका थिए। अस्पताल पुर्याउनासाथ बालकलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

बालक मृत्युको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार