सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दा फैसलाका लागि आजलाई पेसी तोकिएको छ । आज मुद्दाको अन्तिम सुनुवाइ हुन लागेको हो ।

गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।

अन्तिम बहस सकिएमा आजै फैसला आउने सम्भावना छ । सन्दीपले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ ।

ती किशोरीले एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको भनी गत वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

उक्त मुद्दामा यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भए। यसपछि सर्वोच्च अदालतले उनलाई विदेश जान लगाइएको प्रतिबन्ध पनि हटाउन आदेश दियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार