हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ ।
साथै नेपालमा भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान् छ भने मधेश र कोशी प्रदेशको तराई भू(भागका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति कोशी र मधेश प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।