बाँकेको बाल सुधार गृहमा झडप : एकको मृत्यु, १० घाइते

बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु रुद्रपुरका २१ वर्षीय सुलभ केसी रहेका छन् ।

बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएकाहरुमध्ये केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।

केसी अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका थिए । घाइते अन्य दश जनाको उपचार जारी छ । ती मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख सिंहले बताए । घाइतेहरुको भेरी अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । प्रहरीले सुधार गृह तोडफोड गर्ने २५ जनालाई नियन्त्रणमा लिएको छ ।

बाल सुधार गृहमा पटक–पटक झडप हुँदै आएको छ । बाल सुधार गृहभित्र राती झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या भएको थियो । भित्रको अवस्थाबारे अहिलेसम्म पनि यकिन भएको छैन ।

पछिल्लो पटक लागु औषध मुद्दाका बालकहरूलाई ल्याएपछि बाल सुधारगृहमा रहेका अन्य व्यक्तिहरुसँग पटक–पटक तनावपूर्ण अवस्था आउने गरेको थियो । यसअघि माघ अन्तिम सातापनि दुई पक्षबीच झडप भएपछि आगजनी र तोडफोड गरिएको हो ।

बालिग भए पनि यही बस्न पाउने भएकाले दोहोरो झडपका घटना बढी हुने गरेको पाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार