मलंगवामा दुई समुदायबीच फेरि झडप, गएरातिदेखि अनिश्चितकालिन कर्फ्यु

गणेश पूजाको मूर्ति सेलाउन जाने क्रममा उत्पन्न विवादको कारण बिहीबार रातिदेखि सर्लाही सदरमुकाम मलंगवाको अवस्था फेरि तनावग्रस्त बनेको छ ।

बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवका अनुसार बिहीबार साँझदेखि केही उच्छृंखल व्यक्तिहरुले सदरमुकामको बजार क्षेत्रमा आगजनी, तोडफोड, ढुंगामुडा र प्रदर्शन गर्न थालेपछि कर्फ्यु आदेश जारी गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

मूर्ति सेलाउन जाने क्रममा साँझ साढे ७ बजे मुस्लिम बस्ती पुगेपछि बिजुलीको लाइन कट्यो । त्यहीबेला अज्ञात समूहबाट ढुंगामुढा प्रहार भएपछि झडप भएको थियो ।

त्यसैक्रममा एक युवकमाथि छुरा प्रहार भयो । छुरा प्रहार भएका ती युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यसले थप अप्रिय घटना निम्तन सक्ने भएकाले अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी भएको सीडीओ इन्द्रदेव यादवले जानकारी दिए ।

कर्फ्यु आदेशपछि मलंगवाको अवस्था रातभर शान्त रहेको यादवले बताए ।

तीन साता अघि कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा मलंगवा नगरपालिका(३ को जुन ठाउँमा तोडफोड र आगजनीका घटना भएका थिए, सोही ठाउँमा हिजो फेरि गणेशको मूर्ति विसर्जन गर्ने नाममा एउटा उच्छृंखल समूहले नियोजित रुपमा विवाद सिर्जना गरी हिन्दु मुस्लिम साम्प्रदायिक सद्भाव विथोल्ने प्रयास गरेको स्थानीय प्रशासनले जनाएको छ।

हिंसाको अवस्था भएर सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार र उच्छृङ्खल गतिविधि भएपछि अवस्थालाई नियन्त्रणमा राख्न अनिश्चितकालीन कर्फ्यु आदेश जारी गर्नुपरेको सीडीओ यादवले बताए।

‘सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन सक्ने स्थिति देखिएकोले पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्म) कर्फ्यु आदेश जारी गरिएको छ,’ बिहीबार राति १० बजे सीडीओ यादवले जारी गरेको सूचनामा भनिएको छ।

प्रशासनले कर्फ्यु आदेश जारी गरेको चार किल्ला सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न र कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने यादवले बताए ।

‘यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारवाही गर्नेछन्,’ यादवले भने। उनले कर्फ्यु आदेश आज दिनभर जारी रहने जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार