लुम्बिनीका मुख्यमन्त्रीसँग राउटेले मागे दशैं खर्च

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई भेटेर राउटे समुदायले दशैं खर्च उपलब्ध गराइदिन माग गरेका छन् ।

बिहीबार दाङस्थित मुख्यमन्त्री कार्यालयमा पुगेर राउटे मुखियाका प्रतिनिधि बिर्खेबहादुर शाहीको टोलीले मुख्यमन्त्री चौधरीसँग त्यस्तो माग गरेको हो ।

दशैं नजिक आइसकेको भन्दै शाहीले मुख्यमन्त्री चौधरी र अर्थमन्त्री धनबहादुर मास्कीसँग आफ्ना जनतालाई दसैं मनाउने खर्चका लागि दुई लाख दिन आग्रह गरेका थिए ।

‘दशै आइसक्यो, हाम्रो जनताले दशैमा बलि दिनुपर्छ, खसी खानु पर्छ, सरकारले पैसा दिनु पर्‍यो’ मुख्यमन्त्री समक्ष शाहीले भने, ‘८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनु पर्‍यो । हामीले लगेर सबै जनतालाई बाड्छौं ।’ उनले आफूहरु अहिले दैलेखमा बसिरहेको र दशै खर्चका लागि दाङ आएको बताए ।

आफूहरू तीजको खर्च माग्नका लागि आएको भएपनि तीज गइसकेको हुँदा अब दशैंको खर्च जुटाउनु परेको जानकारी दिएका थिए ।

मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको दशै खर्चका लागि आबश्यक व्यवस्था गरिने बताए । ‘राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने प्रदेश सरकारले सहयोग गर्छ, ’ मुख्यमन्त्री चौधरीले भने, ‘२र३ दिनमा सरकारको केही सहयोग हुन्छ ।’

यसअघिका वर्षहरूमा पनि राउटे समुदायका मानिसहरू दसैं खर्च माग्नका लागि प्रधानमन्त्री लगायतलाई भेट्दै आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार