विवाहमा ३२ लाख लिएका युवकले थप दाइजो नल्याएको भन्दै गरे पत्नीको हत्या

सुनसरीको इनरूवाबाट एक युवक पत्नी हत्याको आरोपमा पक्राउ परेका छन् ।

इनरुवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएपछि भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ ।

उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् ।

निकिताको हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारवाही गर्न माग गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको ११ महिनाको छोरासमेत रहेको आफन्तले बताएका छन् । माइती पक्षले नाबालक छोराको समेत जिउज्यानको सुरक्षा गरिदिन प्रहरी समक्ष आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार