२२ वर्षीया नसिमा खातुन मृतावस्थामा भेटिइन्, पति र सासू नियन्त्रणमा

कपिलवस्तुको यशोधरा गाउँपालिका १ पकडीस्थित घरमा मृत अवस्थामा भेटिएकी महिलाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले उनका पति र सासूलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार राति १० बजेतिर स्थानीय २२ वर्षीया नसिमा खातुन आफ्नै घरको बरन्डामा रहेको खाटमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनालगत्तै प्रहरीले मृतक महिलाका पति प्रवेज आलम धुनिया, सासु साजिामा धुनिया, ससुरा जाकिर हुसने धुनिया, देवर तरबेज अहमद, नन्द रुक्सार खातुनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

महिलाको मृत्यु शंकास्पद देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको बताए । मृतकको घाँटीमा नीलडाम देखिएको र महिलाको मृत्युको खबर माइती पक्षबाट आएकाले घटना शंकास्पद रहेको थापाले बताए।

उता मृतक महिलाकी आमा भारतको सिद्धार्थनगर थाना मोहोना पोस्ट बर्डपुर १० मदरापुरकी आशिया खातुनले ज्वाइँ प्रवेज आलम र सम्धिनी साजिामा धुनियाविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरीसमेत दिएकी छन् ।

नियन्त्रणमा लिइएका सबैजनासँग प्रहरीले सोधपुछ गरेको थापाले बताए । मृतकका पति र सासूविरुद्ध किटानी जाहेरी परेकाले ती दुईमाथि मुद्दा चलाइने र अन्यलाई बोलाएको बखत हाजिर हुने गरी रिहा गरिने थापाले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार