आज पनि काठमाडौंमा शिक्षकको प्रदर्शन, माइतीघर-बानेश्वर क्षेत्र अस्तव्यस्त

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर दोस्रो दिन पनि सडक आन्दोलन गरेको छ ।

बिहीबार देशभरिका सामुदायिक विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो । शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरू गरेका हुन् ।

शिक्षकहरुले माइतीघर-नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ । पुलहरुमा पनि जाम बढेको छ ।

आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो । शिक्षक महासंघले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।

संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक(शिक्षिका आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ ।

शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार