संविधान दिवसका दिन शीतलनिवासमा रात्रिभोज, गएनन् ओली र बालेन

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा बुधबार साँझ रात्रिभोज आयोजना गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोजमा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थिति रहेको थियो । त्यसैगरी, मन्त्रीहरु, विदेशी राजदूतहरुलगायतको पनि सहभागीता थियो ।

कार्यक्रम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सहभागी भएनन् । राष्ट्रपति पौडेलले आयोजना गरेको रात्रिभोजमा अन्य कयौँ भीआइपीहरु पुग्दा यी दुईजना निम्तालु सहभागी नभएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार उनीहरु सबैलाई आमन्त्रण भने गरिएको थियो ।

ओली एमालेले नक्सालको नारायणचौरमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा सहभागी भए । त्यहीकारण उनी शीतल निवासको कार्यक्रममा सहभागी नभएको एमालेका एक नेताले जानकारी दिएका छन् । ओली बुधबार बिहान नारायणचौरमै भएको राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रममा पनि सहभागी थिए ।

यसअघि राष्ट्रपति पौडेलले डाकेको सर्वदलीय बैठक पनि एमाले अध्यक्ष ओली गएका थिएनन् । उता बालेन संघीय सरकार र त्यसका अंगबाट हुने कार्यक्रमको बेवास्ता गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार