पहिरोको डरले निदाउन सक्दैनन् चुमनुब्रीवासी, बस्ती व्यवस्थापनमा जुटे सांसद अधिकारी

गोरखाको चुमनुब्री गाउँपालिकाको एकै वडाको चार वटा बस्ती बाढी र पहिरोले उच्च जोखिममा परेको छ । मनसुन सुरु भएसँगै आएको बाढी, पहिरोको कारण गाउँपालिकाको वडा नम्बर-३ को चार वटा बस्ती उच्च जोखिममा परेको हो ।

असार १ गते बुढीगण्डकी नदीमा आएको बाढीले सल्लेरी, जगत क्षेत्रका बस्तिनै कटान गरेपछि स्थानीय घरबार विहीन हुन पुगेका छन् भने उनीहरू फेरी कति बेला बाढी आउने हो भन्ने त्रासमा बस्न बाध्य बनेका छन् ।

चुमनुब्री गाउँपालिका बस्ती बाढी पहिरोको उच्च जोखिममा परेको सूचना प्राप्त गर्नसाथ प्रतिनिधिसभाका सांसद हरिराज अधिकारी सो क्षेत्रको अध्ययनका लागि राष्ट्रिय विपद् व्यवस्थापन जोखिम न्यूनीकरण प्राधिकरणका इन्जिनियर र खानी तथा भूगर्भ विभागका विज्ञ सहितको टोली लिएर उक्त क्षेत्रमा पुगेका छन् । उक्त टोलीमा सांसद अधिकारीसँगै विपद् प्राधिकरणका भूगर्भ इन्जिनियर सुशील श्रेष्ठ, खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. सूचिता श्रेष्ठ, सुलभ कायस्थ र पत्रकार सागर पन्त सहभागी थिए ।

असार १३ गते पहिलो दिन पालिकाको वडा नम्बर-३ फिलिमस्थित दोयल गाउँ क्षेत्रमा पहिरोले बस्ती नै बगाउने जोखिम भएपछि टोली उक्त क्षेत्रमा अध्ययनको लागि पुगेको थियो । टोलीले तीन दिनसम्म फिलिम, दोयल गाउँ, सल्लेरी, जगत, जगतबगर लगायतका स्थानका जोखिमपूर्ण बस्तीको अध्ययन तथा अनुगमन गरेको छ ।

असार १३ गते उक्त क्षेत्रमा पुगेको टोलीले ३ दिनसम्म त्यहाँ रहेर जोखिमपूर्ण बस्तीको अध्ययन तथा अनुगमन गरेको सांसद अधिकारीले जानकारी दिए । ‘भूकम्पले बढी हल्लाएको र धाँजा पारेका स्थान अहिले पनि पहिरोको जोखिममा छन्,’ उनले भने, ‘अहिले त बुढीगण्डकी नदीमा आएको बाढीले बस्ती नै कटान गरेपछि जनता उच्च जोखिम मोलेर बस्न बाध्य बनेका छन् । उक्त क्षेत्रमा बस्ती बस्न के हुन्छ भन्ने विषयमा अध्ययन गर्न मैले विज्ञ सहितको टोली ल्याएर छलफल गरेको छु । विज्ञ टोलीले दिने सुझावको आधारमा बस्ती स्थानान्तरण गर्ने वा के गर्ने भन्ने विषयमा छिट्टै निर्णय लिन्छौ ।’

जोखिममा रहेका बस्तीका जनतासँग सांसद अधिकारीले निरन्तर छलफल गर्दै उनीहरूको समस्याको बारेमा जानकारी लिँदै आफूले सक्दो पहल गर्ने बताए । ‘तपाईँहरूको दु:खमा म साथमै छु,’ उनले भने,‘ हामी सम्पूर्ण रूपले लाग्नुपर्छ तपाइँहरुलाई मेरो पूर्ण साथ र सहयोग रहन्छ। विपद्को बेला हामी संयुक्त रूपमा लड्नुको विकल्प छैन ।’

समयमानै अध्ययन गरि जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न नसक्दा हरेक वर्ष बाढी पहिरोका कारण ठूलो जनधनको क्षति व्यर्होनु परेको उनले बताए । ‘उत्तरी गोरखा भौगोलिक हिसाबले विकट छ, २०७२ गोरखा भूकम्पले चिराचिरा बनाएका पहाडहरू खस्ने, पहिरो जाने क्रम रोकिएका छैन’, सांसद अधिकारीले भने, ‘जोखिमपूर्ण बस्तीको बेलैमा अध्ययन गरि नागरिकहरूको जनधनको रक्षा गर्नु पहिलो आवश्यकता हो ।’

उक्त क्षेत्रका कतिपय स्थानमा बाहिर ठिकठाकजस्तो जमिन देखिए पनि भित्री भाग कमजोर रहेको भूगर्भविद् डा। सूचिता श्रेष्ठले जानकारी दिइन् । ‘बस्ती पहिरोको जोखिममा रहेको देखियो तर बस्ती स्थानान्तरण गर्नुपर्ने वा नपर्ने विषयमा सम्पूर्ण अध्ययनपछि मात्र भन्न सकिन्छ’, उनले भनिन्, ‘सम्पूर्ण डाटा हेरेर हामी निष्कर्षमा पुग्छौँ ।’

राष्ट्रिय विपद् व्यवस्थापन जोखिम न्यूनीकरण प्राधिकरणका इन्जिनियर सुशील श्रेष्ठले बस्ती जोखिममा रहेकाले त्यसलाई कम गर्न छिटै निर्णय लिनुपर्ने बताए । ‘केही बस्ती जोखिममै रहेको देखियो’, उनले भने, हामी विस्तृत अध्ययनमै छौं । सम्पूर्ण रिपोर्ट आएपछि के गर्ने भन्ने बारे प्राधिकरणले निर्णय लिन्छ ।’ प्राधिकरणले सुरक्षित स्थानमा स्थानान्तरण हुन चाहनेलाई घर बनाउन र जग्गा खरिद गर्न आर्थिक सहयोग गर्ने समेत उनले जानकारी दिए ।

निदाउन सक्दैनन् सल्लेरी र जगतवासी
असार १ गते बुढीगण्डकी नदीमा आएको बाढीले बस्ती नै कटान गरेपछि सल्लेरी र जगतवासी पानी परेपछि राति जागै बस्छन् । उक्त बाढीले सल्लेरीका ६ घर बगायो भने २० घर विस्थापित हुन पुग्यो । अहिले सल्लेरी गाउँ पुरै जोखिममा रहेको वडा नम्बर-३ का वडा अध्यक्ष रामकुमार गुरुङले जानकारी दिए । सल्लेरीमा रहेको नेपाली सेनाको क्याप समेत विस्थापित भएको छ ।

जगतका २२ घर समेत बुढीगण्डकी नदी कटानको जोखिममा परेको वडा अध्यक्ष गुरुङले बताए । आफ्नो जीवनकालमा बुढीगण्डकी कहिल्यै यस्तो नदेखेको स्थानीय ६४ वर्षीय लक्ष्मण घलेले बताए । ‘मेरो जीवनकालमा गण्डकी यस्तो अवस्थामा देखेको थिइन’, उनले भने, ‘पानी पर्‍यो भने रातभर सुत्न सकिँदैन । गण्डकी हेरेर बस्नुपर्ने बाध्यता छ। यस्तो भएको भए हामी यहाँ बस्दैनथ्यौ होला ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार