काठमाडौं महानगरले विद्यालय बन्द गरे प्रधानाध्यापक र शिक्षकलाई कारबाही गर्ने

काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय गरेको छ । शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय महानगरपालिकाले गरेको हो ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका छन् । तर, महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको छ ।

विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने महानगरको निर्णय छ । शिक्षकले तोकिएको आचरण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने बताइएको छ ।

विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेर आन्दोलन थालेको छ ।

संसदमा दर्ता भएको विधेयक अनुसार शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग महासंघले गरेको छ ।

दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने लगायतका प्रावधानहरुमा पनि शिक्षक महासंघको असन्तुष्टि छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार