न्युयोर्कमा प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज संयुक्त राष्ट्र संघको मुख्यालय भटवार्ता भएको हो ।

भेटमा नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

साथै,नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच छलफल भएको छ ।

आजदेखि सुरू हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क गएका थिए ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोलीमा सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छ ।

७८ औं महासभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते सम्बोधन गर्नेछन् ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् ।

महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जानेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार