न्युयोर्क पुगे प्रधानमन्त्री प्रचण्ड, राष्ट्रसंघका स्थायी प्रतिनिधिले गरे स्वागत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई आइतबार जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थाई प्रतिनिधि लोकबहादुर थापा लगायतले स्वागत गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गरेका हुन् । आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले दिएको कार्यसूची अनुसार महासभाको आमबहसमा ‘विश्वासको पुनर्निर्माण र विश्वव्यापी एकताको पुनर्निर्माणः २०३० एजेन्डा र यसको दिगो लक्ष्यमा सबैका लागि शान्ति, समृद्धि, प्रगतिका लागि द्रुत कार्य’ शीर्षकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।

महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै असोज २ गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा उनी सहभागी हुनेछन् ।

अमेरिकामा रहँदा उनले राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसम्बन्धी शिखर सम्मेलन र जलवायु महत्वाकाङ्क्षा शिखर सम्मेलनमा पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरी आपसी हित र शान्ति सेनामा नेपालको प्रगतिको समीक्षा गर्नेछन् । त्यस्तै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै आपसी साझेदारीका लागि पहल गर्नेछन् ।

राष्ट्रसङ्घ जाने नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका साथमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्र सचिव भरतराज पौड्याल तथा परराष्ट्र मन्त्रालयका अन्य उच्चाधिकारी सहभागी छन् । परराष्ट्रमन्त्री साउद केही दिनअघि नै अमेरिका पुगिसकेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार