नेपालमा फेरी बढ्न थाले कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा दुई हजार ८९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार १८७ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार ८८९ जना कोरोना सङ्क्रमित भेटिएका छन् । चार हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमण दर २६ प्रतिशत पुगेको छ । जोखिम अझै नहटेकाले जन स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गरेका छन् ।

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यस अवधिमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ५९७ छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ५६१ रहेको छ । तीमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा छन् । तीन हजार १७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नौ हजार ११२ जनाको मृत्यु भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या १७ छ । पछिल्ला दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको तथ्याङ्कले देखाएको छ । मङ्गलबार सङ्क्रमण पुष्टि भएको दुई हजार ६३६ भन्दा आज २५६ जनाले बढी थपिएका छन् । सोमबार दुई हजार ४४४ जना सङ्क्रमित भेटिएका थिए । आइतबार एक हजार ९२० जनामा मात्र कोरोना सङ्क्रमित पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार