राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवाहरु पुर्पक्षका लागि कारागार चलान

राउटे युवतीमाथि यौन दुर्व्यहार गर्ने तीन जना युवालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका दोमन बहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।

विनोदले सञ्चालन गरेको होटलमा जेठ २१ गते राति ९ बजे दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडियो सार्वजनिक भएपछि उनीहरूलाई प्रहरीले जेठ २३ गते बिहान ३ बजे पक्राउ गरेको थियो ।

फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय यसअघि सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका थिए । यो घटना हुँदा उनीहरू गुर्भाकोट नगरपालिका-११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए । असार ७ गते उनीहरू त्यो ठाउँबाट सल्यानको कालिमाटी गाउँपालिकामा बसाइँ सरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार