एमाले स्थायी कमिटीमा आठ नेता थपिए, माधव पक्षमाथिको गरेको कारवाही फुकुवा

महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

महाधिवेशन आयोज कमिटीको बैठकबारे पत्रकारलाई जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्थायी कमिटीमा रहने नेताहरुको हेरफेर भएको बताए । बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।

यस्तै प्रवक्ता ज्ञवालीका अनुसार बैठकले नेता माधवकुमार नेपाल पक्षका नेताहरुमाथि गरिएको कारवाही फुकुवा गरेको छ । महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछि सबै कारवाही निस्प्रभावी भएको ज्ञवालीले जानकारी दिए । अब पार्टी पुरानै केन्द्रीय कमिटीको तहबाट सञ्चालन हुने उनले बताए ।

बैठकको निर्णयपछि अब सबै नेताहरु पार्टी एकताको पक्षमा आउने विश्वास व्यक्त गर्दै नेता ज्ञवालीले शुक्रबार बस्ने बैठक २०७५ जेठ २ को अवस्थामा बस्ने जानकारी दिए । नेताहरु सबै पार्टी एकता चाहेकाले समस्या समाधान हुने उनले विश्वास व्यक्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार