हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।