कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई नियुक्त गरेर आजै शपथ गराइने भएको छ ।
प्रदेश प्रमुखको कार्यालयले साँझ ६ बजेका लागि मुख्यमन्त्रीको शपथ कार्यक्रम तय गरेको छ ।
सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो ।
मुख्यमन्त्रीको शपथ ग्रहणसँगै आजै २ जना मन्त्री नियुक्त गर्ने तयारी भएको छ । एमाले स्रोतका अनुसार आज तीलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भएको छ । मेन्याङ्बो कार्की नेतृत्वको सरकारमा समेत मन्त्री थिए ।
सर्वोच्च अदालतले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्न बिहीवार परमादेश जारी गरेको थियो ।
संविधानको उक्त उपधारामा प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ ।
यसरी नियुक्त भएको मुख्यमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
विश्वासको मत पाउन नसकेको खण्डमा संविधानको धारा १६८ (५) अनुसार बहुमत जुटाउन सक्ने सभाको कुनै पनि सदस्यलाई मुख्यमन्त्री बनाउन सकिने व्यवस्था छ ।
निवर्तमान मुख्यमन्त्री उद्धव थापा सर्वोच्चको आदेशबाट बिहीवार पदमुक्त भएका छन् । सभाध्यक्षले दिएको विश्वासको मत बदर भएपछि उनको पद गएको हो ।