नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री

अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन्।

शुक्रबार सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उनले सो घोषणा गरेका हुन्।

अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको पनि जानकारी दिए । त्यस अवसरमा उनले नेपालमा आर्थिक वृद्धि गराउने राम्रा सङ्केतहरु देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री महतले भने, ‘‘नेपालमा लगानी गर्ने र त्यसको बजार विदेशमा समेत प्राप्त गर्ने सम्भावना त्यसले दिएको छ । त्यस्तै गरेर अहिले आईटी सेक्टर यो बृहत् सम्भावनाको क्षेत्र छ । त्यसमा मुख्य लगानीकर्तालाई विदेशमा जुन स्थापित आईटी सेक्टरका कम्पनीहरु छन् । तिनीहरुलाई हामीले ल्याउन सक्नुपर्दछ । हामी चाँडै अब एउटा लगानी समिट पनि नेपालमा गर्छौं । त्यसका लागि तत्कालै हामी यथेष्ट गृहकार्य पनि सुरु गर्छौं । बजेटमा पनि हामीले बोलेका छौं ।’’

नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा वाह्य लगानी भित्रिनेसमेत अर्थमन्त्री महतले बताए ।

उनले भारतमा १० हजार मेघावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौंतालाई अब छिट्टै अघि बढाउने बताए ।

अर्थमन्त्री महतले भने, ‘हाम्रो देश आर्थिक समस्याले विभिन्न कारणबाट गुज्रेको छ । तर राम्रो दिन आउँदै छ । यसको राम्रो संकेतहरु देखा पर्न थालेका छन् । यसको मतलव यो होइन कि हामी समस्यारहित भईसक्यौं भन्ने होइन । समस्याहरु छन् । तर ती समस्याहरुलाई हटाउँदै आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरु अब सुरु हुन्छ ।’

अर्थमन्त्री महतले नेपालमा बाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढंगले पहल गर्ने विश्वाससमेत व्यक्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार