तनहुँको म्याग्दे गाउँपालिका–५ थाङदीमा दुर्घटनामा परी बिहीबार दिउँसो एक महिलाको मृत्यु भएको छ । खैरेनीटारबाट भिमाद जाँदै गरेको ग१६प ५९६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार जिल्ला तनहुँ भिमाद नगरपालिका–४ नरीकोट बस्ने वर्ष ३३ की कमला रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी रानाको तत्काल उद्धार गरी उपचारका लागि शुक्लाण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपि कोइराला श्वास प्रश्वास केन्द्र बेलचौतारा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष २७ को योगेश थापा र उक्त नम्बरको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।