परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको एजेण्डा तय भइनसकेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणको एजेण्डाको अन्तिम टुंगो लागि नसकेको बताएका हुन् । उनले भ्रमणको एजेण्डाको सम्बन्धमा द्विपक्षबीच छलफल चलिरहेको पनि बताएका छन् ।
साउदले भ्रमणका क्रममा ठूलो लिस्ट बोकेर जाने भन्दा डेलिभरीयोग्य परियोजना र मुद्दा अगाडि बढाउने गरी प्रस्ताव लगिने बताए ।
उनले चीनले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा गर्ने सहयोगको विषयलाई एजेण्डा बनाउने विषयमा छलफल भइरहेको बताए ।
तिनै विषयहरुमा सम्झौता हुने तयारी भएको उनको भनाइ छ । त्यस्तै कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सिमा नाकाहरु खोल्ने विषयमा पनि छलफल चलिरहेको उनले बताए ।
‘चीन भ्रमणलाई सफल बनाउन सरकारको सम्पूर्ण मेसिनरी क्रियाशील रहेको छ । हामीले ठूलो लिस्ट भन्दा जो डेलिभरीयोग्य छन् ती परियोजना र मुद्दा अगाडि बढ्ने गरेर प्रस्ताव लैजाने तयारी छ’, उनले भने, ‘चीन र नेपाल परम्परादेखि नै धेरै घनिष्ठ मुलुकका रुपमा रहिआएका छन् । चीन उदाउँदो आर्थिक शक्ति बनेको छ । हालका दिनमा चीनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग अनुदान गर्दै आएको छ । यसरी अनुदान गरेका पनि कतिपय रकम हामीले विनियोजन गर्न सकेका थिएनौँ ।’
चीनले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा गर्ने सहयोगबारे हाम्रोबीचमा छलफल चलिरहेको पनि उनले बताए ।
भ्रमणका एजेन्डालाई अन्तिम रुप दिने काम भइरहेकोले अहिले नै सहयोगको घोषणा हुने वा सम्झौता हुनेबारे सार्वजनिक गर्न हतार हुने उनले बताए ।