कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिटको बहस सकिएको छ ।
पूर्वमुख्यमन्त्री समेत रहेका नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको बहस सकिएको हो ।
अदालत स्रोतका अनुसार यस रिटमा निवेदनक पक्षले जवाफ दिएपछि बहस सकिएकाले बेलुकाकासम्म आदेश आउनेछ ।
कार्कीले भदौ ६ गते नेपाली कांग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको हो ।
रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले थापालाई काम चलाउ मुख्यमन्त्रीका रूपमा मात्रै काम गर्न आदेश दिएको थियो ।
सर्वोच्चको उक्त आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार ‘कामचलाउ’ अवस्थामा छ ।