नेकपा (एमाले) लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सकिएको छ । १ हजार ४ जना मतदाता रहेकामा ९ सय ६५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।
बिहान ८ बजे सुरू भएको मतदान अवधि दिउँसो १ बजेसम्मका लागि तोकिएको थियो । तर १ बजेभित्र हलभित्र छिरेका प्रतिनिधिले मतदान गर्न २ बजेसम्म लागेको निर्वाचन समितिले जानकारी दिएको छ ।
मुख्यनिर्वाचन अधिकृत भण्डारीका अनुसार, अब केहीबेरमा सुरू हुने मतदानको अन्तिम नतिजा साँझसम्म सार्वजनिक हुनेछ । प्रदेश अध्यक्षका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् ।
शनिबारदेखि सुरू भएको अधिवेशनमा सहमतिको प्रयास भन्दै सोमबार दिउँसोसम्म निर्वाचनको प्रक्रिया लम्बाइएको थियो ।
सहमति जुट्न नसकेपछि साँझ सात बजेदेखि मतदान प्रक्रिया सुरू गर्ने बताइए पनि मतदानको लागि आवश्यक तयारी पूरा नभएपछि राति १० बजे सूचना गरेर मंगलबार बिहान ८ बजेका लागि समय सारिएको थियो ।