नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमत्ता हुने बताएका छन् । मङ्गलबार काठमाडौँमा आयोजित नेपाल निजामती कर्मचारी युनियन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए । उनले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने जिकिर गरे ।
उनले नेपालसँग विद्युत् किन्ने भनेको भारत मात्रै भएकाले नेपालले कि विद्युत् नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बताए । उनले भनेका कुरा नमान्ने हो भने विद्युत् नकिन्ने हुँदा थोरै लचिलो भए पनि देशको हितमा काम गर्नुपर्ने बाध्यता रहेको बताए ।
सभापति देउवाले भने, ‘‘चीन र भारत दुई वटा हाम्रो छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने आवश्यकता हाम्रो छ । कोसँग कति बोल्ने कति कुरा राख्ने भन्ने हुन्छ । चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्छ । साथी बनाउन सक्नुहुन्छ तर छिमेकी बनाउन सकिँदैन । भारत र चीन नेपालका छिमेकी हुन् । बदल्न सकिँदैन, उनीहरूले भनेको मान्नुपर्छ । सन्तुलन गरेर जानुपर्छ । यसमा नै हाम्रो बुद्धिमत्ता छ । समस्या समाधान गर्नुपर्ने हाम्रो कर्तव्य हो ।’’
सभापति देउवाले सरकार र ब्युरोकेसीबीच एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने बताए ।