विनाकसुर ४० वर्ष भारतीय जेल बसेका दुर्गाप्रसादले लिए नागरिकता

विनाकसुर ४० वर्ष भारतीय जेल बसेर स्वदेश फर्किएका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता लिएका छन् । उनले बिहीबार ६१ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् ।

दुर्गाप्रसाद साबिकको एकतप्पा गाविसमा २०१७ साउन २० गते जन्मिएको नागरिकतामा उल्लेख छ । हालको ठेगाना भने माई नगरपालिका–१० लुम्बाक राखिएको छ । उनलाई सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुएँलले नागरिकता प्रदान गरेका हुन् । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि सहजीकरण गरिदिएको थियो । योसँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणिकरण प्रमाणपत्र पनि बनाइएको छ ।

उच्च अदालत कोलकाताले तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिनू भनी आदेश दिए लगत्तै प्रक्रिया सुरु गर्न नाता प्रमाणिकरण गरिएको भाइ प्रकाशचन्द्रले बताए । २० वर्षकै उमेरमा भारत छिरेका उनको जेल परेपछिको अदालती कामकारबाहीमा भने दीपक जैसी भनी नाम उल्लेख गरिएको छ ।उनको नागरिकता बनाउन बुधबार वडा कार्यालयले सिफारिस गरिदिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार