आज (सोमबार) देखि तीन दिन अर्थात् बुधबारसम्म ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसम सुधारोन्मुख छ । ‘वर्षा त हुन्छ तर हल्कादेखि मध्यमसम्म मात्र । ठूलो वर्षाको सम्भावना छैन । बादल पनि देशभर लाग्दैन’, उनले भनिन्, ‘कतिपय स्थानमा घाम लाग्छ ।’
जसका कारण तापक्रमचाहिँ बढ्ने सम्भावना देखिएको उनले बताइन् । आज बिहान ७ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम आज बिहान ७ बजे २१ डिग्री सेल्सियस पुगिसकेको छ । आज उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्रीसम्म पुग्ने अनुमान छ ।
वर्षा कम भएसँगै घाम लाग्ने र त्यसले स्वाभाविक रूपमा तापक्रम बढाउने भएकाले आगामी ३ दिन गर्मी केही बढ्ने अनुमान मौसमविद्ले गरेका छन् ।