प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नियमित कानुन बनाउनका लागि संसद् अवरोध बाधक भएको बताएका छन् । साथै उनले सांसदहरूलाई अवरोध खोल्नका लागि आग्रह समेत गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले धुलिखेलमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । केही सातादेखि नै संसद् अवरोध भइरहँदा नियमित काम कारबाही अगाडि बढाउन नसकेको भन्दै उनले कैयौं विधेयकहरूमा छलफल हुन नसकेको बताए ।
‘केही सातादेखि संसद नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौं विधेयकहरु छलफल भएको छैन । परिणाम दिने गरी नियम कानुन बनाउन सकिरहेका छैनौं । माननीयज्यूहरुले संसद् अवरोध खोल्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु,’ सभामुख घिमिरेले बताए ।
अघिल्लो कार्यकालमा पनि संसद् विघटन लगायतका कारण संसद्ले नियमित काम गर्न नसकेको भन्दै सभामुख घिमिरेले चिन्ता व्यक्त गरेका छन् । घिमिरेले भनेका छन्, ‘अघिल्लो संसद्मा पनि संसद् विघटन, पुनर्स्थापना र निर्वाचनका कारण जनमुखी कानुन निर्माणमा प्रर्याप्त छलफल हुन सकेन । मानवअधिकार आयोगको घटुवा जस्ता गम्भीर विषयमा जसरी संसदमा छलफल गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । अरु पनि थुप्रै विधेयकहरु छन्, नीतिहरु बनाउनुपर्ने अवस्था छ । यो परिस्थितिको अन्त्य हुनैपर्छ ।’
सभामुख घिमिरेले मानवअधिकार आयोगको स्तर घटुवाको विषयले आफूलाई गम्भीर बनाएको पनि बताए । उक्त विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने उनले औल्याएका थिए । सुन तस्करीको घटनाबारे उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै नेकपा एमालेका सांसदहरूले पटक पटक संसद् अवरुद्ध गर्दै आएका छन् ।