जनता समाजवादी पार्टी जसपाले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ । आज शुक्रबार पत्रकार सम्मेलन गरेर जसपाले सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको सहमतिप्रति आपत्ति जनाएको हो ।
गत मंगलबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको थियो ।पत्रकार सम्मेलनमा जसपाका नेता मनिष सुमनले तत्कालीन माओवादी नेता प्रभु साहसहितको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे ।
विभिन्न स्थानमा माओवादीले आफ्ना सभाहरुमा आक्रमण गरेको र गौरमा १२ दिनअघि नै कार्यक्रम गर्न स्थानीय प्रशासनबाट स्वीकृत लिएपनि माओवादीले त्यसको २ दिन अघि सो स्थानमा कार्यक्रम राखेर भिडन्तको अवस्था सिर्जना गरेको जसपाले बताएको छ ।
उनले गौर घटनाका बारेमा बनेका छानबिन समिति र आयोगका प्रतिवेदनहरु सार्वजनिक गर्न पनि माग गरे । जसपाले गौर हत्या काण्डका बारेमा छानबिन गर्न उच्च स्तरीय संसदीय समिति छानबिन गर्न पनि माग गरेको छ । जसपाले सरकार र गौरकाण्डका पीडितबीच भएको सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने कार्य गरेको जनाएको छ ।
‘गृह मन्त्रालय र रुपसागरदेवी उपाध्यायबीच भएको सहमतिले मुलुकको शान्ति, स्थिरता र सद्भावना बिथोल्ने काम गरेको छ’ महासचिव मनिष सुमनले भने, ‘यो दु:खद छ ।’ सरकार र आन्दोलनरत पक्षबीच ५ बुँदे सहमति भएको छ । जसमा २०६३ चैत ७ भएको घटनामा दोषी उपर छानबिन गर्ने उल्लेख छ ।