लडाकु शिविर घोटालाको पनि छानबिन हुनुपर्छ : डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् । पार्टीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको समयमा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताएका हुन् ।

सबै भ्रष्टाचारसम्बन्धी मुद्दाहरुको छानबिनका लागि उच्चस्तरीय आयोग जरुरी रहेको उनको भनाइ थियो । नेता भट्टराईले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताए ।

विगतमा भट्टराईले लडाकु शिविरमा घोटाला भएको बताउने गरेको तर अहिले चुप लागेको भन्ने पत्रकारको प्रश्नमा उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निकर्षमा पुर्‍याउनुपर्ने बताएका छन् ।

आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरु खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको भट्टराईले आरोप लगाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार