एमालेको नाराबाजीपछि सदन आज पनि स्थगित

अब साउन २९ गते बस्ने

प्रतिनिधि सभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले अवरोध गरेका छन् । उनीहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका हुन् ।

एमाले सांसद ज्वालाकुमारी साहले बोलेलगत्तै सांसदहरूले नाराबाजी र वेल घेराउ गरेका हुन् । एमाले सांसदहरूको निरन्तर नाराबाजीपछि सभामुख देवराज घिमीरेले साउन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिनिधिसभाको बैठक एमालेले साउन १० यता लगातार अवरुद्ध गर्दै आएको छ । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

त्यसको छानबिन सुरुमा राजश्व अनुसन्धान विभाग गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । एमालेले उक्त सुन तस्करीको छानबिन गर्नका लागि उच्च स्तरीय समिति गठन गर्न संसद् अवरोध गरेर दबाब दिइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार