सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

दावासँग कनेक्सन देखिएपछि पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजन पुरुष र एकजना महिला रहेका छन् ।

ब्यूरोका एक अधिकृतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरिएको हो । कालोसूचीमा रहेका उनीहरु विमानस्थल पुगेपछि अध्यागमन विभागले सीआईबीका अधिकृतहरुलाई जानकारी गराएको थियो । त्यसपछि विभागबाट बुझेर उनीहरुलाई पक्राउ पूर्जी थमाइएको एक अधिकृतले बताए ।

राजस्व अनुसन्धान विभागले केही दिनअघि पक्राउ परेका दावा छिरिङसँग उनीहरुको ‘कनेक्सन’ देखिएपछि पक्राउ गरेको हो । यस प्रकरणमा अहिलेसम्म तीन जना चिनियाँ समातिएका छन् ।

अहिलेसम्म सुन प्रकरणमा २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । जसमा भन्सार एजेन्ट रुक्मिना सुब्बा भने जिम्मा जमानीमा रिहा भएकी छिन् ।

साउन ३ गते राजस्वको टोलीले भन्सार जाँच पास गरेर बाहिरिएको करिब एक अर्बको सुन बरामद गरेको थियो । राजस्वले अनुसन्धान गरिरहेको यो मुद्दा गत आइतबारबाट भने ब्युरोले हेरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार