संसदको अवरोध खुलाउने प्रयासमा शीर्ष नेताहरु छलफलमा

प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक जारी छ ।

सुन प्रकरणमा छानबिन समिति बनाउने एमालेको अडानमा हिजो सिंहदरबार र बानेश्वरमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि थप छलफलका लागि आज पुनः जुटेका हुन् ।

प्रतिनिधिसभा बैठक ३ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख सचेतक र सचेतकहरू सहभागी छन् ।

 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्वीकार गरेपछि गत १२ साउनदेखि नै संसद् अवरुद्ध हुँदै आएको छ ।

सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण यस अघिका कयौँ बैठकहरू निष्कर्षमा पुग्न सकेका छैनन।

आजको बैठक उपयुक्त निर्णयमा पुर्‍याउन सरकार गम्भीर हुने विश्वास लिएको एमालेका सचेतक महेश बर्तौँलाले बताएका छन ।

सम्बन्धित समाचार