बेनी–जोमसोम सडक अन्तर्गतको राहुघाट–तातोपानी खण्डमा रातको सयममा सवारी आवागमन बन्द गरिएको छ ।
यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो ।
सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकाले वर्षायामभरि रातिको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए ।
रघुगङ्गा गाउँपालिका–२ बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न नरोकिएको र पहिरो खसेर सडक अवरुद्ध हँदा धेरै सर्वसाधारण र यात्रु अलपत्र पर्ने समस्या आउन थालेको छ ।
रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खबर गरेरमात्रै आवातजावत गर्नसमेत स्थानीय प्रशासनले आग्रह गरेको छ ।
त्यसैगरी बैसरी पहिरो रोकथामका लागि पहिरो खस्न सुरु भएकै ठाउँमा एक्साभेटर मेसिन प्रयोग गेरेर संरक्षण र रोकथामका संरचना निर्माण गर्न कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला सडक योजना)लाई अनुरोध गर्ने र सो कार्यका लागि जिल्ला समन्वय समिति, जिल्लास्थित सुरक्षा निकाय, रघुगङ्गा गाउँपालिका, डिभिजन वन कार्यालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णयसमेत भएको जिसस प्रमुख थापाले बताए ।
बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न थालेपछि गत शनिबारदेखि बेनी–जोमसोम सडकखण्डमा सिधा सवारी अवरुद्ध बनेको छ ।
सडकमाथिको डाँडा र पाखाबाट निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएकाले सडकमा सयौँ सवारीसाधन लाम लागेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भूमिगत पानी र भिरमाथिको पाखोबाट सडकमा पहिरो खसिरहने भएकाले सडक सञ्चालन गराउन समस्या भएको जानकारी दिए ।
बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका र सिङ्गो मुस्ताङवासीलाई सास्ती भएको छ ।
यसले मुस्ताङको भ्रमणमा आएका पर्यटक र मुक्तिनाथको दर्शनका लागि आएका तीर्थयात्रीसमेत बीच बाटैमा अलपत्र परेका छन् ।
गत वर्षदेखि अँधेरीखोलाको भिरबाट पहिरो खस्न थालेको थियो । यस क्षेत्रमा यसअघि पहिरो खस्दा गुडिरहेका सवारीसाधनमा क्षति पुर्याउनुका साथै र यात्रुलाई समेत चोटपटक लागेको थियो ।