स्याङ्जाको भिरकोट नगरपालिका –४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।
काठमाडौँबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको बा३प १००३ नम्बरको माइक्रो र सुनौलीबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको जीजे ०५ बीएक्स २३२३ नम्बरको बस सोमबार साँझ ६ बजे एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
घाइतेमध्ये माइक्रो चालक गल्याङ नगरपालिकामा बस्ने ४० बर्षीय पूरन बोहोरा र परिचय नखुलेका माइक्रो सहचालकलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परी स्याङजा वालिङ २ का पवित्रा सोनाम, वालिङ ९ का दुर्गा बहादुर गुरुङ, वडा नं. २ का मुना गुरुङ, वडा १३ का मन्जु एस्के, वडा ८ का सरिता रेग्मी, भिरकोट घर भई वालिङ १ बस्ने मनसुभा नेपाली, चापाकोट ३ का बेद ब. थापा, चापाकोट ४ का मिन ब. सारु, पर्वतको बिहादी गाउँपालिका ४ का रुकमागत भुसाल, बिहादी ६ का टेक ब. बस्याल, वालिङ २ का सुमित्रा थापा मगर रहेका छन् । सबैको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
भारतीय बसमा सवार ४८ जना सबै सकुशल रहेको प्रवक्ता सुवेदीले जानकारी दिए । दुवै सवारी साधन र भारतीय बस चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।