बबई र बागमती नदीले खतराको तह पार गर्‍यो

नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा रातिदेखि लगातार हल्कादेखि भारी वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुँदा खोला-नालाको जल सतह बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियामा बबई नदीले खतराको तह पार गरेको छ ।

त्यस्तै रौतहटमा बागमती नदीले पनि खतराको तह पार गरेको महाशाखाले जानकारी दिएको छ । बाढीले क्षति पुर्याउन सक्ने भएकाले रौतहट र सर्लाहीका नदी किनारका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बाढीको सतह बढ्दो क्रममा छ ।

सिन्धुलीको हरिहरपुरगढी क्षेत्रमा खोखजुर खोलाको जल सतह सतर्कताको नजिक रहेको छ । त्यस्तै, उत्तरी मकवानपुरको भोर्लेनीमा पनि बागमती नदीको जल सतह खतराको तह नजिक रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

सम्बन्धित समाचार