संसदीय समिति सभापतिको भागबन्डामा परेनन राप्रपा र रास्वपा
काँग्रेसलाई ४, एमालेलाई ३ र माओवादी केन्द्रलाई २ समितिको नेतृत्व
संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ । सिंहदरबारमा सोमबार बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो ।
जसअनुसार सत्तारुढ दल नेपाली कांग्रेसले ४, माओवादी केन्द्रले २, एकीकृत समाजवादी, जसपा र जनमतले १/१ तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३ वटा संसदीय समितिको नेतृत्व गर्ने सहमति भएसँगै दलीय भागबण्डा मिलेको हो ।
पछिल्लो राजनीतिमा उदाएको रास्वपा र राप्रपा भने कुनैपनि संसदीय समितिको नेतृत्व गर्ने भागबण्डामा परेका छैनन ।
भागबण्डा अनुसार कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाई समिति, राज्य व्यवस्था तथा सुशासन समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको नेतृत्व गर्ने भएको छ । यस्तै एमालेले लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व गर्ने छ । माओवादी केन्द्रले पूर्वाधार विकास समिति र कानून, न्याय तथा मानव अधिकार समिति तथा नेकपा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व गर्ने भएको छ ।
जसपाले पाएको भनिएको अन्तर्राष्ट्रिय सम्बन्ध समिति माओवादी केन्द्रलाई दिने र कानुन समिति जसपालाई दिने सम्भावना पनि कायमै रहेको माओवादी नेतालाई बताएका छन ।