बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी उच्च स्रोतले बतायो ।
ललिता निवास प्रकरण प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले अनुसन्धान गरिरहेको छ ।
यसअघि ललिता निवास प्रकरणमै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा गच्छदार, तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी पनि प्रतिवादी थिए ।
सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी लिइसकेको छ ।
अख्तियारले गच्छदार र श्रेष्ठविरूद्ध ९ करोड ६५ लाख प्रतिव्यक्ति बिगो दाबी गरेको थियो भने जोशीविरूद्ध सात करोड ८ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो ।