जारको पानीमा गम्भीर लापरबाही भेटियो : बालेन शाह

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले जारको पानी बिक्रीमा गम्भीर लापरबाही र त्रुटि फेला पारेको बताएका छन् । महानगरपालिकाको कृषि तथा खाद्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहित सरोकारवाला निकायले आईतबार गरेको अनुगमनका क्रममा सो कुरा फेला परेको मेयर शाहले बताएका छन् ।

आईतबार सामाजिक सञ्जाल मार्फत मेयर शाहले व्यावसायिक रूपमा पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले जारमा भरेर वितरण गर्ने पानीको गुणस्तरमा ध्यान नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । बर्खायाममा पानीजन्य रोग लागेर बिरामी हुने व्यक्तिको संख्या उल्लेख्य हुने गरेको र वितरण प्रणालीबाट आएको पानीमा भन्दा जारको पानीमा विश्वास गरेर सहरबासीले जारको पानी किनेर पिउने तथा दैनिक व्यवहारमा प्रयोग गर्ने गरेका बेला जारको पानी अशुद्ध हुनु गम्भीर विषय भएको उनको भनाइ छ ।

‘शुद्धताका लागि पैसा तिरेर किनेको पानीको जारमा लेबल नहुनु, उत्पादन मिति उल्लेख नहुनु, जार फोहोर र कुच्चिएको हुनुले यसभित्रको पानीको गुणस्तरमा शंका गर्नुपर्ने भएको छ । यो पानी घर–घरमा, होटल तथा रेस्टुरेन्टमा सिधै प्रयोग गर्ने गरिएको छ । पिउन तथा काँचै खाइने तरकारी तथा फलफूल पखाल्न प्रयोग हुने गरेको छ’ साहले लेखेका छन् ।

सम्बन्धित समाचार