महिला क्रिकेट टोलीलाई पहिलोपटक विदेशी प्रशिक्षक

Image

भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्शिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्ट र सेप्टेम्बरमा मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी २० एसिया क्षेत्र छनोटका लागि देविकालाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको हो । क्यानले महिला टोलीका लागि पहिलोपटक विदेशबाट प्रशिक्षक ल्याएको हो ।

देविकाले भारतबाट एक टेस्ट र १५ ओडीआई खेलेकी छन् । भारतीय क्रिकेट बोर्डले गत वर्ष आयोजना गरेको वुमन्स प्रिमियर लिगमा देविकाले मुम्बई इन्डियन्सको टोलीमा ब्याटिङ प्रशिक्षकका रुपमा काम गरेकी थिइन् ।

टी २० विश्वकप छनोटका लागि नेपालले यसअघि नै २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ । विश्वकप टी २० एसिया छनोट अगस्ट ३१ देखि सेम्टेम्बर ९ सम्म मलेसियामा हुनेछ ।

नेपाल रहेको समूह ए मा आयोजक मलेसियासँगै बहराइन, भुटान, कतार र यूएई छन् । समूह बीमा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

ग्लोबल महिला टी २० विश्वकपमा आयोजक श्रीलंका र आयल्यान्डसँगै पाँच क्षेत्रिय छनोटबाट आउने आठ टोलीसँगै कूल १० टोलीले खेल्नेछन्। त्यसका शीर्ष दुई टोलीले बंगलादेशमा हुने विश्वकपमा स्थान बनाउनेछ।